देशका विभिन्न भूभागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, जेठ १८ । सोमबार देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
आज राति हिमाली भू–भागमा साधारणतया बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

