टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
दाङ, जेठ १८ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ ।
दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उहाँका ५ वर्षीय छोरा मिनराज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अमृता पाली घाइते हुनुभएको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान करिब ६ बजे तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत गुल्मचोकमा रा. १ ख. २१९२ नम्बरको टिप्परले रा. ४ प. ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकललाई चोकमा ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका बाबुछोरालाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिए पनि उनीहरूको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

