महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला
डडेल्धुरा, जेठ १८ । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ। परशुराम नगरपालिका–५, परिगाउँ क्षेत्रस्थित महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलको बिओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो।
प्रहरीका अनुसार तीर्थबहादुरको शव परिगाउँस्थित कल्पठ्ठेथान नजिक महाकाली नदी किनारमा फेला परेको हो। जवान पुनको शव भने कञ्चनपुरको ब्रह्मदेव क्षेत्र पारि भारतको टनकपुरस्थित महाकाली नदी किनारमा भेटिएको छ।
गत शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजीका क्रममा नदी किनारमा प्रयोग गरिएको ट्युब फेला परेपछि डुबेको आशंकामा खोजी कार्य तीव्र पारिएको थियो।
प्रहरीका अनुसार तीर्थबहादुरको शव परीक्षण जोगबुडा अस्पतालमा तथा जवान पुनको शव परीक्षण महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा गरिनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

