प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण माग्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित



काठमाडौँ, जेठ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण माग गर्दै प्रतिपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्ति त्रुटिपूर्ण र तथ्यहीन रहेको आरोप लगाउँदै प्रतिपक्षी सांसदहरूले सोमबार पनि बैठक अवरुद्ध गरेका हुन्। प्रतिपक्षीको निरन्तर विरोधपछि सभामुख डोलप्रसाद अर्यालले दिनको दोस्रो बैठकसमेत स्थगित गर्नुभयो।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख अर्यालले संसद् कानुन निर्माणको महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभए पनि विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।

यसैबीच, आइतबारको प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको छ। सभामुख अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको जानकारी गराउनुभयो।

यसअघि दिनको पहिलो बैठकमा पनि प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गरेका थिए। विपक्षी दलहरूले प्रधानमन्त्रीले तथ्य, प्रमाण र यथार्थका आधारमा मात्रै बोल्नुपर्ने भन्दै नेपालले भारतको भूमि मिचेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका छन्।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेपालले भारतको कुन क्षेत्र अतिक्रमण गरेको हो स्पष्ट पार्न माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीको भनाइका आधारमा भारतले भविष्यमा भूमि फिर्ता मागे त्यसको जवाफ कसरी दिने भन्ने प्रश्नसमेत उठाउनुभयो।

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको दाबी गर्दै उक्त भनाइ फिर्ता लिन माग गर्नुभयो। उहाँले नेपालले भारतको भूमि नमिचेको जिकिर गर्दै प्रधानमन्त्रीको भनाइले सम्पूर्ण नेपालीको शिर झुकाएको आरोप लगाउनुभयो।

नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा तथ्यहीन अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो। उहाँले रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको अभिव्यक्ति भारतका लागि ‘उपहार’ त होइन भन्ने प्रश्नसमेत उठाउनुभयो।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको भन्दै अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अवरोध जारी रहने चेतावनी दिनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउँदै नेपालले भारतको भूमि मिचेको प्रमाण भए सार्वजनिक गर्न माग गर्नुभयो।

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिका क्रममा सभामुखले कुनै रुलिङ नगरी मौन समर्थन गरेको आरोपसमेत लगाएका छन्। जवाफमा सभामुख अर्यालले आइतबारदेखि नै गतिरोध अन्त्यका लागि प्रतिपक्षीसँग पटक–पटक संवाद र सहमतिको प्रयास गरिएको तर विपक्षी दलहरूले चासो नदिएको बताउनुभयो।

सभामुख अर्यालले सोमबार पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको भए पनि विपक्षी दलका प्रतिनिधिहरू उपस्थित नभएको जानकारी दिनुभयो। उहाँले कानुन निर्माण तथा राष्ट्र र राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्