बजेटपछिको उत्साह टिकेन, नेप्से २६.७२ अङ्कले घट्यो



काठमाडौँ, जेठ १८ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ७२ अङ्कले घटेर दुई हजार ७५५ दशमलव ३७ बिन्दुमा झरेको हो।

आज नेप्से शून्य दशमलव ९६ प्रतिशतले घट्दा ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि चार दशमलव ७८ अङ्कले ओरालो लागेर ४७० दशमलव ७२ बिन्दुमा सीमित भएको छ।
सरकारले बजेट सार्वजनिक गरेपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिए पनि सोमबारको कारोबारमा त्यसको प्रभाव देखिन सकेन। बजारमा अधिकांश उपसमूहमा गिरावट देखिएको छ।

नेप्सेका अनुसार तीन सय ४९ कम्पनीका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँमा खरिद–बिक्री भएका छन्।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। त्यसपछि नेपाल पुनरबीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी तथा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।

आज नेपाल पुनरबीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सिटिजन बैंक डिबेञ्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंक डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्।

यता बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआइबिएल समृद्धि फण्ड–२ तथा नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन्। कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य बढ्दा ११ उपसमूहमा गिरावट आएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्