सांसदहरूको अमर्यादित व्यवहारबारे छानबिन गर्न संसदीय समिति गठन
काठमाडौँ, जेठ १८ । प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदहरूले अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको विषयमा छानबिन गर्न संसदले जाँचबुझ समिति गठन गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसदीय जाँचबुझ समिति गठन गरिएको जानकारी गराउनुभयो।
सभामुख अर्यालका अनुसार संसद नियमावली, २०८३ को नियम ३३ (४) बमोजिम गठन गरिएको समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहनेछन्।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३१ (४) बमोजिम आवश्यक कारबाहीका लागि सिफारिस गर्न सकिने व्यवस्था रहेको जानकारी पनि दिनुभयो।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।

