दैलेखमा बोलेरो जिप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु, पाँच जना गम्भीर घाइते
दैलेख, जेठ १८ गते । दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च. ४९६४ नम्बरको बोलेरो जिप भैरवी गाउँपालिका–५ कालगौँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका–६ की ५५ वर्षीया पुल्तीसरा विकको मृत्यु भएको हो।
दुर्घटनामा शुभकालिका गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय चक्र सुनार, २६ वर्षीय सुमत विक, ४० वर्षीय नैन सुनार, शुभकालिका गाउँपालिका–६ का २० वर्षीय भरत विक तथा शुभकालिका गाउँपालिका–५ का २५ वर्षीय कलम सुनार गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको थियो। घाइतेमध्ये सुमत विक र नैन सुनारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। अन्य घाइते चक्र सुनार, भरत विक र कलम सुनारको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख श्रवणकुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको तथा दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

