नुवाकोट शिवपुरीका पेम्बासहित ११ जना १०१ ग्राम खैरो हेरोइनसंगै काठमाडौबाट पक्राउ



काठमाडौं,जेठ १८ । काठमाडौँको कोटेश्वर क्षेत्रबाट १०१ ग्राम खैरो हेरोइनसहित ११ जना युवायुवती पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार २०८३ जेठ १२ गतेदेखि १७ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–६ की ३२ वर्षीया दीपाकुमारी विष्ट, महोत्तरी एकडरा गाउँपालिका–४ का २६ वर्षीय अमरकुमार साह, चितवन भरतपुर महानगरपालिका–१७ का ३६ वर्षीय सुनिल लामा, इलाम चुलाचुली गाउँपालिका–४ की ३५ वर्षीया सङ्गीता बास्कोटा, नुवाकोट शिवपुरी गाउँपालिका–२ का ३३ वर्षीय पेम्बा लामा, चितवन भरतपुर महानगरपालिका–६ का ३८ वर्षीय जीवनकुमार लामा रहेका छन्।

त्यस्तै भारतको दरभङ्गा जिल्ला फिर्मा पञ्चायत कचुवा–२ का २६ वर्षीय आकाश सिंह, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–२ का २९ वर्षीय सरोज गुरुङ, सुनसरी धरान उपमहानगरपालिका–१७ की २० वर्षीया जिया राई तथा मकवानपुर थाहा नगरपालिका–९ की २० वर्षीया स्वस्तिका तामाङ पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुनिल लामा र सङ्गीता बास्कोटा यसअघि लागु औषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका थिए। उनीहरू २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट फरार भएका व्यक्तिहरू रहेको प्रहरीको दाबी छ। पक्राउ परेका सबैमाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्