बचत फिर्ताको माग बढ्दो, काठमाडौं महानगरमा ६ हजारभन्दा बढी बचतकर्ताको उजुरी



काठमाडौं, जेठ १९— काठमाडौं महानगरपालिका (कामपा) सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बराबरको बचत रकम फिर्ताको माग दर्ता भएको छ।

कामपा सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म प्राप्त उजुरीका आधारमा छ हजार ३०० बचतकर्ताले आफ्नो बचत रकम फिर्ता गरिदिन माग गरेका छन्। तीमध्ये अधिकांश बचतकर्ताले रु एक लाखदेखि पाँच लाखसम्म रकम जम्मा गरेका थिए।

प्रमुख काफ्लेले दैनिक रूपमा साना बचतकर्ताबाट धेरै उजुरी आउने गरेको जानकारी दिँदै उजुरी दिनेहरूमध्ये करिब ७८ प्रतिशत साना बचतकर्ता रहेको बताउनुभयो। उहाँका अनुसार दैनिक ५०० देखि एक हजार रुपैयाँसम्म बचत गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य रूपमा बढी छ।

यसैबीच, कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सोमबार र मंगलबार गरी ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। सहकारीले हाल रु एक लाख ५० हजारसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको र आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना बनाएको विभागले जनाएको छ।

ठूला बचतकर्ताको रकम फिर्ताका लागि सहकारी विभागसँग समन्वय गरी ऋणीलाई ताकेता गर्ने तथा बचतकर्तालाई रकम फिर्ता दिलाउने प्रक्रिया अघि बढाइएको कामपाले जनाएको छ। विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ।

प्रमुख काफ्लेका अनुसार विभागले बचतकर्ताको माग दाबीसहितको निवेदन लिएर सहकारी सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्दै आएको छ। वडास्तरमा समस्या समाधान नभए विभागले थप सहजीकरण गर्ने र सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका लागि सिफारिससमेत गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्