वर्षा घटेसँगै तराईमा तातो बढ्दै, तातो लहरको सम्भावना
काठमाडौँ, जेठ १९ । देशभर वर्षा हुने क्रम घट्न थालेसँगै तापक्रम बढ्न थालेको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि वर्षा केही कम भएसँगै मधेश प्रदेश, कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना बढेको छ । महाशाखाले भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा पनि तापक्रम बढ्ने र तातो दिनको अवस्था रहने जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो तीन दिनको अभिलेखअनुसार देशका केही स्थानमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले आगामी केही दिन तराई क्षेत्रमा गर्मी अझ बढ्न सक्ने र तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको जानकारी दिनुभयो ।
यद्यपि देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भने वर्षाको सम्भावना कायमै रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद्हरूले अत्यधिक गर्मी हुने क्षेत्रमा आवश्यक सावधानी अपनाउन तथा पर्याप्त पानी पिउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

