गर्मीका कारण पशुचौपायामा असर, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, जेठ १९ । बढ्दो गर्मी र तातो हावाले पशुचौपायामा समेत असर पार्न थालेपछि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक गर्मीका कारण पशुमा पानीको कमी, थकान, खाना कम खाने तथा बिरामी पर्ने समस्या देखिन सक्ने जनाएको छ। पशु विज्ञहरूका अनुसार गाईभैँसी विशेषगरी भैँसी गर्मीप्रति बढी संवेदनशील हुने भएकाले पर्याप्त पानी, छायाँ र शीतल वातावरण उपलब्ध गराउन आवश्यक छ।

चर्को गर्मीसँगै चल्ने ‘लु’ बाट पशु जोगाउन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म घाममा नराख्न, स्वच्छ पानी खुवाउन र शीतल स्थानमा राख्न सुझाव दिइएको छ। पशुमा सुस्त हुने, सास फेर्न गाह्रो हुने वा खाना खान छोड्ने लक्षण देखिए तत्काल उपचार गराउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्