प्राथमिक तहका ६ हजार शिक्षक दरबन्दी निमाविमा स्तरोन्नति गरिने



काठमाडौँ, जेठ १९  । सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै र माथिल्लो कक्षामा बढ्दै गएपछि सरकारले प्राथमिक तहका करिब ६ हजार शिक्षक दरबन्दी स्तरोन्नति गरी निम्न माध्यमिक तहमा स्थानान्तरण गर्ने तयारी गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको अध्ययनअनुसार पहिलो चरणमा पाँच हजार ९६५ प्राथमिक तहका दरबन्दी निम्न माध्यमिक तहमा लैजान सिफारिस गरिएको छ । उक्त प्रस्ताव हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अध्ययनको क्रममा रहेको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार प्राथमिक तहमा शिक्षक–विद्यार्थी अनुपात असन्तुलित देखिएकाले दरबन्दी पुनरावलोकन गर्न लागिएको हो । हाल प्राथमिक तहमा एक लाख ४५ हजार ७५३ शिक्षक दरबन्दी रहेका छन् भने ३५ लाख ५४ हजार ९०४ विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि ८ सम्म भने ५९ हजार ५५२ शिक्षक र १८ लाख १९ हजार ३६८ विद्यार्थी रहेका छन् ।

तथ्याङ्कअनुसार प्राथमिक तहमा एक शिक्षक बराबर औसत २४ विद्यार्थी तथा कक्षा ६ देखि ८ मा ३० विद्यार्थी पर्ने अवस्था छ । शिक्षक दरबन्दी आवश्यकता भन्दा बढी देखिएकाले प्राथमिक तहमा पछिल्ला दुई वर्षदेखि स्थायी शिक्षक पदपूर्ति पनि रोकिएको छ । सरकारले शिक्षक–विद्यार्थी अनुपात मिलाउन चरणबद्ध रूपमा थप दरबन्दी स्तरोन्नति गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्