पाँच सय मिटर तल खस्यो जिप : वडा सदस्यको मृत्यु, दुई घाइते



पर्वत,जेठ १९ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा क्षेत्रमा सडकबाट करिब पाँच सय मिटर तल खस्दा वडा सदस्य ५२ वर्षीय केशवराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका केशवराजलाई उपचारका लागि पोखरा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा जिप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्