मनसुनको जोखिममा काभ्रेका ४७९ बस्ती, १३ वटै स्थानीय तह उच्च सतर्कतामा
काभ्रेपलाञ्चोक, जेठ १९ – मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोक जिल्लाका ४७९ बस्ती उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। सोमबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका १३ वटै स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेको जानकारी दिइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार जिल्लामा ४७९ बस्ती उच्च जोखिममा, २०९ बस्ती खुला स्थानमा तथा १९२ बस्ती सुरक्षित क्षेत्रमा रहेका छन्।साथै, ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताउँदै निगरानी बढाएर विपद् आएमा सुरक्षाकर्मीमार्फत तत्काल उद्धार तथा प्रतिकार्य गरिने जानकारी दिनुभयो। उहाँले जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त नभएको पनि बताउनुभयो।
समितिले स्थानीय तहलाई युवालक्षित विपद् प्रतिकार्य तालिम सञ्चालन गर्न तथा राहत र उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको छ। स्थानीय तह र सुरक्षाकर्मीबाट प्राप्त तथ्याङ्कका आधारमा यस वर्ष मनसुनका कारण ठूलो जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
विशेषगरी रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला र दाप्चाखोलालगायत नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक बढी प्रभावित हुनसक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी बेथानचोक गाउँपालिकाका करिब १०० बस्ती उच्च जोखिममा छन् भने सबैभन्दा कम चौँरी देउराली गाउँपालिकाका पाँच बस्ती जोखिममा रहेका छन्। पाँचखाल नगरपालिकामा ८३, बनेपा र नमोबुद्ध नगरपालिकामा ५०/५०, धुलिखेलमा २५, पनौतीमा १५, मण्डनदेउपुरमा १५, तेमालमा ३५, रोशीमा १२, भुम्लुमा ४०, खानीखोलामा ३० तथा महाभारत गाउँपालिकामा १९ बस्ती जोखिममा रहेका छन्।
गत वर्ष २०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोमा काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए। उक्त विपद्मा ७५ जना घाइते भएका थिए। मृत्यु हुनेमध्ये २१ जना विद्यार्थी रहेका थिए भने सबैभन्दा बढी क्षति पनौती नगरपालिकामा भएको थियो।

