एलपीएलमा तीन नेपाली खेलाडी छनोट, सन्दीप र दीपेन्द्र जाफ्ना किङ्ग्समा
काठमाडौँ, जेठ १९ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याटर कुशल भुर्तेल श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्।
सोमबार राति सम्पन्न खेलाडी ड्राफ्टमा जाफ्ना किङ्ग्सले सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई एसोसिएट स्टार्स क्याटेगोरीबाट अनुबन्ध गरेको हो। यस्तै, कुशल भुर्तेललाई कोलम्बो काप्सले आफ्नो टोलीमा समेटेको छ।
ड्राफ्टअनुसार सन्दीपले २० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् भने दीपेन्द्र र कुशलले समान १५/१५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
एलपीएलमा नेपाली खेलाडीहरूको सहभागिताले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा नेपालको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

