घाँस काट्न गएका पुरुषको गोहीको आक्रमणमा मृत्यु



चितवन, जेठ १९  । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवका अनुसार घाँस काट्न निस्किएका चोखाल घर नफर्किएपछि परिवार तथा स्थानीयवासीले खोजी गरेका थिए। खोजीका क्रममा उहाँको शव राप्ती नदी किनारमा फेला परेको हो।

प्रहरीका अनुसार चोखाल नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका थिए। घटनास्थलको अवस्था हेर्दा मृतकको खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्