करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु



रौतहट, जेठ १९ – रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारी पटेलको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मोटर जडान गरिएको धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी वर्षाकुमारीलाई उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्