नुवाकोटको शिवपुरीमा शिक्षा सुधारका लागि अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया
नुवाकोट, जेठ २० । जिल्लाको शिवपुरी गाउँपालिकामा पहिलोपटक विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा शिक्षकहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक विद्यालय व्यवस्थापन महासंघको आयोजना तथा शिवपुरी गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रम शिवपुरी सामुदायिक विद्यालय महासंघले सञ्चालन गरेको हो।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी गाउँपालिका प्रवक्ता चन्द्रबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल तथा सामुदायिक विद्यालय व्यवस्थापन महासंघका हरि दुलाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिवपुरी गाउँपालिकाभित्रका विभिन्न विद्यालयका व्यवस्थापन समिति, शिक्षक, सामुदायिक विद्यालय महासंघका सदस्य तथा शिक्षासम्बन्धी सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विज्ञमार्फत विद्यार्थी, अभिभावक र विद्यालयको भूमिका तथा जिम्मेवारीका विषयमा छलफल गरिएको थियो। शिक्षा क्षेत्रमा सुधार ल्याउन शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीबीच समन्वय तथा सहकार्य आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमले सबै पक्षको भूमिका र जिम्मेवारीबारे सचेतना बढाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

