साइबर ठगीका घटना बढ्दो, दैनिक १०० भन्दा बढी उजुरी
काठमाडौँ, जेठ २० । नेपालमा सामाजिक सञ्जाल, अनलाइन कारोबार, उपहार, चिट्ठा, वैदेशिक रोजगारी, अपुताली तथा क्रिप्टोको प्रलोभन देखाएर हुने साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोमा मात्रै दैनिक १०० भन्दा बढी ठगीसम्बन्धी उजुरी दर्ता हुने गरेका छन्।
ब्युरोका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चार हजार १५४ उजुरी दर्ता भएकोमा २०८१/८२ मा यो संख्या बढेर सात हजार ७४० पुगेको थियो। चालु आर्थिक वर्षको नौ महिनामै पाँच हजार ७३६ उजुरी परिसकेको छ।
साइबर ब्युरोका प्रवक्ता दिलिपकुमार गिरीले अपरिचित व्यक्तिको प्रलोभन, नक्कली सन्देश, चिट्ठा, उपहार र अनलाइन किनमेलका नाममा ठगी बढेको बताउनुभयो। उहाँले शङ्कास्पद लिङ्क नखोल्न, गोप्य विवरण सार्वजनिक नगर्न, बलियो पासवर्ड प्रयोग गर्न तथा अपरिचित कल र सन्देशप्रति सतर्क रहन आग्रह गर्नुभयो।
ब्युरोले सामाजिक सञ्जाल ह्याक गरी ठगी गर्ने, नक्कली एप प्रयोग गर्ने तथा प्रहरीको नामसमेत दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले कुनै शङ्का वा उजुरी भए तत्काल प्रहरी वा साइबर ब्युरोलाई जानकारी गराउन अनुरोध गरेको छ।

