फ्लाइ दुबई पोखरा उडानमा इच्छुक, पर्यटन प्रवर्द्धनमा सहकार्यको सम्भावना



पोखरा, जेठ २० । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ।

भेटमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन, दुबई–पोखरा पर्यटन प्रवर्द्धनका सम्भावना, हवाई सुरक्षाका मापदण्ड तथा दुई पक्षीय हितका विषयमा छलफल भएको थियो। नगर प्रमुख आचार्यका अनुसार उड्डयन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका लुकाजले फ्लाइ दुबई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न इच्छुक रहेको बताउनुभएको छ।उहाँले फ्लाइ दुबईको उडान पोखरासँग जोडिन सके यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन तथा एयरलाइन सञ्चालनका विज्ञ लुकाजले पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई निकै प्रभावित बनाएको उल्लेख गर्दै अन्तरराष्ट्रिय उडान विस्तारका लागि सकारात्मक धारणा राख्नुभएको थियो। भेटका क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि महानगरले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले नेपाल सरकारसँग पटक–पटक संवाद भइरहेको तथा विभिन्न अवसरमा अन्तरराष्ट्रिय चार्टर उडान सफलतापूर्वक सञ्चालन भएकाले विमानस्थल अन्तरराष्ट्रिय उडानका लागि पूर्ण सक्षम रहेको बताउनुभयो।

“पोखराबाट अन्तरराष्ट्रिय उडान सम्भव छ भन्ने कुरा चार्टर उडानहरूले प्रमाणित गरिसकेका छन्। पर्यटनको राजधानी सहरका रूपमा रहेको पोखरालाई अन्तरराष्ट्रिय बजारसँग जोड्न नियमित अन्तरराष्ट्रिय उडान आवश्यक छ,” प्रमुख आचार्यले भन्नुभयो। भेटवार्तामा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायतको सहभागिता रहेको थियो।

मित्रराष्ट्र चीनको सहयोगमा करिब २२ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन। हाल विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।

प्रतिक्रिया दिनुहोस्