मुसहर बस्तीमा २४ पक्की घर, विपन्न परिवारको जीवनस्तरमा सुधार



सिरहा,जेठ २० । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थित मुसहर बस्तीमा २४ वटा आधुनिक पक्की घर निर्माण गरी विपन्न दलित परिवारलाई हस्तान्तरण गरिएको छ।

लहान नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र स्थानीयको श्रमदानमा रु १ करोड २८ लाखभन्दा बढी लागतमा निर्माण गरिएका घरहरू मङ्गलबार नगरप्रमुख महेशप्रसाद चौधरीले लाभग्राहीलाई हस्तान्तरण गर्नुभएको हो।

प्रत्येक घरमा दुई कोठा, भान्सा, बरन्डा र शौचालयको व्यवस्था गरिएको छ भने घरहरू भूकम्प प्रतिरोधी छन्। नयाँ घर पाएपछि वर्षौंदेखि जीर्ण फुसका छाप्रामा बस्दै आएका मुसहर तथा दलित परिवारको जीवनस्तरमा सुधार आएको छ।

नगरपालिकाले आगामी दिनमा पनि भूमिहीन, दलित र विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्