७० वर्षमा पहिलो पटक नागरिकता, राज्य सेवामा पहुँच खुल्यो



म्यादी,जेठ २० । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार उहाँलाई नागरिकता उपलब्ध गराएको हो।

शारीरिक रूपमा अपाङ्गता भएकी एकल महिला खत्री नागरिकताको अभावमा राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुँदै आउनुभएको थियो। कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजात जुटाएर प्रशासनमा प्रक्रिया अघि बढाएपछि उहाँले नागरिकता पाउन सफल हुनुभएको हो।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले खत्रीलाई नागरिकता हस्तान्तरण गर्नुभयो। नागरिकता प्राप्त गरेसँगै उहाँले सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया सुरु गर्ने बताउनुभएको छ। साथै, राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन दिनुभएको छ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नागरिकता बनाउन योग्य उमेर पुगेका नागरिकले आवश्यक प्रक्रिया पूरा गरी समयमै नागरिकता लिनुपर्नेमा जोड दिनुभयो। दुर्गम क्षेत्रमा अझै पनि नागरिकताको महत्वबारे जानकारी अभाव, शारीरिक अपाङ्गता तथा आर्थिक समस्याका कारण धेरै नागरिक नागरिकताविहीन रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्