गण्डकीमा पर्यटन प्रवर्द्धनका नयाँ योजना, ‘पहिला घरदेशः अनि परदेश’ अभियानलाई प्राथमिकता



कास्की,जेठ २० । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘एक जिल्लाः एक पर्यटकीय गन्तव्य’ विकास, धार्मिक पर्यटन परिपथ निर्माण तथा सांस्कृतिक उत्सव प्रवर्द्धनका कार्यक्रम समेटिएका छन्।

सरकारले पोखरालाई पर्यटकीय राजधानीका रूपमा थप स्थापित गर्न ‘राउन्ड फेवाः भ्यू फेवा’ कार्यक्रम सम्पन्न गर्ने, फेवा तालमा सेल्फी पुल तथा रुपातालमा सिसाको पुल निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ। साथै मनास्लु, अन्नपूर्ण, धौलागिरि र ढोरपाटन क्षेत्रका पदमार्ग स्तरोन्नति तथा नयाँ पदमार्ग विकास गरिनेछ।

भारत र चीनबाट आउने पर्यटकको सङ्ख्या पाँच वर्षभित्र दोब्बर बनाउने लक्ष्यसहित ‘गण्डकी जाऔँः प्रकृति र संस्कृतिसँग रमाऔँ’ अभियान सञ्चालन गरिने भएको छ। साहसिक पर्यटन, होमस्टे तथा फार्म–स्टेको स्तरीकरण, सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटक सुरक्षाका लागि ‘पर्यटक प्रहरी’ परिचालनलाई थप सुदृढ बनाइने नीति सरकारले लिएको छ।

प्रतिक्रिया दिनुहोस्