एक महिनापछि वनभित्र भेटिए दुई जीवनका अन्तिम निशानी शव



काभ्रेपलाञ्चोक, जेठ २० — करिब एक महिनादेखि परिवार, साथीभाइ र सुरक्षाकर्मीको खोजीको केन्द्रमा रहेका दुई युवाको कथा बुधबार बिहान दुःखद अन्त्यको खबर फैलियो । पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनको सुनसान क्षेत्रमा एउटै रुखमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेपछि हराइरहेका दुई परिवारको प्रतीक्षा शोकमा परिणत भएको छ।

मृत भेटिनेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका सशस्त्र प्रहरी बलका असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन्। उनीहरू हराएको खबरपछि विभिन्न निकायबाट खोजी भइरहेको थियो।

बुधबार बिहान वन समितिका सदस्यहरू सल्लाको खोटो संकलनका लागि वन अनुगमनमा पुगेका बेला मौवाको रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुवै जना छुट्टाछुट्टै पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

शवको अवस्था हेर्दा घटना केही दिनअघिको मात्रै नभई लामो समयअघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। लामो समयसम्म वनभित्र शव रहँदा ती सडिसकेको अवस्थामा फेला परेका थिए।

अनुसन्धानका क्रममा बरामद भएका कपडा, व्यक्तिगत सामग्री तथा कागजातका आधारमा परिवार र आफन्तसँग रुजु गर्दा मृतकहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ। शक्ति राम सशस्त्र प्रहरी बल नम्बर १५ हेडक्वाटर पाँचखालमा कार्यरत थिए। उनी वैशाख १९ गतेदेखि दुई दिनको बिदामा निस्किएका थिए। यता शर्मिला चौधरी वैशाख १८ गते काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको कार्यालयमा निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दर्ता गराएका थिए।

एक महिनासम्म कुनै सूचना नपाएका परिवारका लागि बुधबारको खबर पीडादायी बन्यो। खोजीको आशा बोकेर बसेका आफन्तहरूले अन्ततः उनीहरूलाई जीवित नभई शवका रूपमा पाउनुपरेको छ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्