मोदीसँगको भेट ‘फलदायी र सार्थक’ रहेको रवि लामिछानेको दाबी
काठमाडौँ, जेठ २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई फलदायी र सार्थक रहेको बताउनुभएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो भेटवार्ता गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सम्भावनाबारे छलफल भएको संकेत गर्नुभएको छ।
“आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टासम्म अत्यन्त फलदायी र सार्थक वार्ता गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ,” लामिछानेले उल्लेख गर्नुभएको छ।
उहाँले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ। “नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगतर्फ अघि बढ्ने तपाईंको दृष्टिकोणप्रति म पूर्ण रूपमा सहमत छु,” उहाँले भन्नुभएको छ।
लामिछानेका अनुसार साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज सम्पर्क विस्तारका क्षेत्रमा सहकार्य बढाउँदै दुवै देशले प्रगति र पारस्परिक विश्वासमा आधारित साझेदारीलाई थप सुदृढ बनाउन सक्नेछन्।

