स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापा, जेठ २० — झापाको मेचीनगर नगरपालिका–९ सतीघट्टामा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
बुधबार साँझ करिब ५:२० बजे मे १ प ३९१ नम्बरको होलीबेल अंग्रेजी विद्यालयको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय अजय राजवंशी र भारतको गलगलिया, किशनगञ्ज निवासी ३३ वर्षीय अजय माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार इटाभट्टा–भद्रपुर सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएका थिए।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

