शिवपुरीमा व्यवहारिक शिक्षाको नयाँ अभ्यास : विद्यार्थीदेखि अभिभावकसम्मलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षण
नुवाकोट, जेठ २१ — विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहोस् भन्ने उद्देश्यसहित शिवपुरी गाउँपालिकामा व्यवहारिक शिक्षासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
शिवपुरी गाउँपालिका–१ स्थित भूमेदेवी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षक कमल सिलुवालले व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको हो।
शिवपुरी गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रमले विद्यालय, परिवार र समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्रशिक्षणका क्रममा सिकाइलाई जीवनोपयोगी बनाउने, सकारात्मक सोचको विकास गर्ने तथा विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा अभिभावक र शिक्षकको भूमिकाबारे विशेष चर्चा गरिएको थियो।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।वडा नं. १ का अध्यक्ष सुकुराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमेदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिहर खतिवडा, सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घका अध्यक्ष हरि दुलाल, आसपासका विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले प्रशिक्षणलाई ज्ञानमूलक मात्र नभई व्यवहारमा लागू गर्न सकिने उपयोगी कार्यक्रमका रूपमा लिएको बताएका छन्। विद्यालय शिक्षामा नयाँ ऊर्जा थप्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई गाउँपालिकाभर विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
यसैबीच, व्यवहारिक शिक्षासम्बन्धी उक्त प्रशिक्षण कार्यक्रम आज शिवपुरी गाउँपालिका–२ मा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

