एमालेका अनुभवी नेता श्यामराज पाठकको नयाँ राजनीतिक यात्रा, उज्यालो नेपालमा पाए प्रदेश सचिवको जिम्मेवारी



नुवाकोट, जेठ २१ — तीन दशकभन्दा बढी समय नेपाली कम्युनिष्ट आन्दोलन र नेकपा (एमाले) को संगठन निर्माणमा बिताएका नुवाकोटका वरिष्ठ राजनीतिक व्यक्तित्व श्यामराज पाठकले आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन्। लामो समय एमालेमा सक्रिय रहेर विभिन्न जिम्मेवारी सम्हालेका पाठक अब उज्यालो नेपाल पार्टीमार्फत प्रदेश राजनीतिमा नयाँ भूमिकामा देखिने भएका हुन।

उज्यालो नेपाल पार्टीमा प्रवेशसँगै पाठकलाई बागमती प्रदेश कमिटीको सचिवको जिम्मेवारी दिइएको छ। पार्टीले बुधबार सार्वजनिक गरेको नियुक्तिपत्रअनुसार विधान–२०८२ को परिच्छेद ७, दफा २७ बमोजिम उनलाई उक्त पदमा नियुक्त गरिएको हो। बागमती प्रदेश अध्यक्ष प्रविणकुमार बलले पाठकको नियुक्तिबारे जानकारी गराउँदै उनको अनुभव र राजनीतिक योगदान पार्टीका लागि महत्वपूर्ण हुने बताएका छन्।

नुवाकोटको ककनी गाउँपालिकाका निवासी पाठक एमालेभित्र वैचारिक, अध्ययनशील र संगठन निर्माणमा दक्ष नेताका रूपमा परिचित थिए। करिब ३५ वर्षको राजनीतिक यात्रामा उनले स्थानीय तहदेखि प्रदेशस्तरसम्म विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए। उनी एमाले नुवाकोट क्षेत्र नं. १ (ख) प्रदेश कमिटीका अध्यक्ष समेत भइसकेका नेता हुन्।

तर पछिल्ला वर्षहरूमा एमालेभित्र देखिएको आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रति उनको असहमति सार्वजनिक हुँदै गएको थियो।विशेषगरी एमालेको ११औँ महाधिवेशनका क्रममा प्रतिनिधि छनोट प्रक्रियामा जिल्ला अध्यक्ष बद्री मैनालीले एकलौटी निर्णय गरेको आरोप लगाउँदै उनले असन्तुष्टि व्यक्त गरेका थिए। त्यही घटनापछि उनले पार्टीबाट अलग हुने निर्णय गरेका थिए।

राजीनामापछि केही समय सक्रिय राजनीतिबाट टाढाजस्तै देखिएका पाठकको उज्यालो नेपाल पार्टीमा प्रवेशलाई नुवाकोट र बागमती प्रदेशको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार लामो अनुभव, संगठनात्मक क्षमता र वैचारिक स्पष्टता भएका नेताको आगमनले उज्यालो नेपाल पार्टीलाई प्रदेशस्तरमा बलियो आधार निर्माण गर्न सहयोग पुग्न सक्छ।उज्यालो नेपाल पार्टीले पनि पाठकजस्ता अनुभवी नेताको सहभागिताले संगठन विस्तार, नीति निर्माण तथा जनस्तरसम्म पहुँच अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

एमालेबाट सुरु भएको श्यामराज पाठकको राजनीतिक यात्रा अब नयाँ दल र नयाँ जिम्मेवारीसँगै अघि बढेको छ। बागमती प्रदेश सचिवका रूपमा उनको भूमिका र प्रभाव आगामी दिनमा प्रदेश राजनीतिको एउटा चासोको विषय बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्