राष्ट्रपतिद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको शुभकामना, विभेदविरुद्ध एकजुट हुन आह्वान



काठमाडौँ, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै विभेदरहित, समावेशी र सभ्य समाज निर्माणका लागि थप प्रतिबद्ध बन्न आह्वान गर्नुभएको छ।

दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गर्नुभएको हो। उहाँले यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन समाज निर्माणप्रति सबैलाई प्रेरित गरेको उल्लेख गर्नुभएको छ।

विसं २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै आएको छ।

राष्ट्रपति पौडेलले संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै विविधताबीचको एकता, सामाजिक सद्भाव र समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको उल्लेख गर्नुभएको छ।जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने भन्दै उहाँले समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता तथा पारस्परिक सम्मानको भावना विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

सन्देशमा राष्ट्रपति पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको उल्लेख गर्दै सबै जातजाति र समुदायबीच सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ। साथै, जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिँदै समतामूलक राष्ट्रिय एकता सुदृढ बनाउन व्यक्ति, परिवार, समाज, तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा सञ्चारकर्मीलाई अझ संवेदनशील हुन आह्वान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्