समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द
नेपालगञ्ज, जेठ २१ । बाँकेको खजुरा गाउँपालिकाले निर्माण कार्य समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग भएका पाँचवटा ठेक्का सम्झौता रद्द गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समयसम्म सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले अमन कन्स्ट्रक्सन, गुलरिया–५ बर्दियासँग भएका पाँचवटै ठेक्का सम्झौता अन्त्य गरिएको हो।
खजुरा गाउँपालिका–४ स्थित एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्ने कार्यका लागि २०७७ फागुन १२ गते ठेक्का सम्झौता भएको थियो। २०७८ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म सडक कालोपत्रको काम पूरा हुन सकेको छैन।ग्राभेल र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र नहुँदा सडक पुनः जीर्ण बनेको छ।
अमन कन्स्ट्रक्सनले ठेक्का लिएका एनआइसी बैंकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिसहितका योजना पनि वर्षौंदेखि अधुरा रहेका छन्।
गाउँपालिकाले निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भन्ने विषयमा गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको थियो। तर तोकिएको अवधिभित्र सम्झौताअनुसार काम अघि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेपछि ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो।
गाउँपालिकाले अधुरा योजनाहरू सम्पन्न गराउन आवश्यक थप प्रक्रिया अघि बढाउने जनाएको छ।

