पर्यटकीय चहलपहल बढेसँगै सिमकोट विमानस्थलमा एकैदिन १७० उडान
हुम्ला, जेठ २१ । पर्यटकीय सिजन सुरु भएसँगै हुम्लाको सिमकोट विमानस्थलमा हवाई चाप उल्लेख्य रूपमा बढेको छ। बुधबार एकैदिन विमान र हेलिकोप्टर गरी कुल १७० वटा उडान सञ्चालन भएका छन्।
सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा विमानले ५८ वटा तथा सिमकोट–हिल्सा–सिमकोट रुटमा हेलिकोप्टरले ११२ वटा उडान भरेका हुन्। हवाईजहाजले २९ वटा उडान नेपालगन्जबाट सिमकोट र २९ वटा सिमकोटबाट नेपालगन्जका लागि गरेका थिए।
त्यसैगरी हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि ५६ तथा हिल्साबाट सिमकोटका लागि ५६ उडान सञ्चालन गरेका थिए। ती उडानमा अधिकांश यात्रु भारतीय धार्मिक पर्यटक रहेको विमानस्थल कार्यालयले जनाएको छ।
मानसरोवर–कैलाश दर्शनका लागि भारतीय पर्यटकहरू गत वैशाख ३० गतेदेखि हुम्ला आउन थालेका हुन्। सोही समयदेखि सिमकोट हुँदै हिल्सातर्फ जाने यात्राको क्रम पनि सुरु भएको थियो।
विमानस्थल प्रमुख सिंहका अनुसार पछिल्ला तीन सातामध्ये सबैभन्दा बढी उडान बुधबार नै भएको हो। हाल सीता, तारा र समिट एयरका छ वटा जहाजले नियमित उडान गरिरहेका छन् भने छ वटा हेलिकोप्टर कम्पनीले सिमकोट–हिल्सा रुटमा सेवा दिइरहेका छन्।
यस अवधिमा हुम्लामा दुई हजार १२४ जना पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ। पर्यटक आगमनसँगै जिल्लाको पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा समेत उत्साह थपिएको छ।

