लुका कारण विद्यार्थी बेहोस हुन थाले, सबै विद्यालय तीन दिन बन्द



बर्दिबास, जेठ २१ । अत्यधिक गर्मी र तातो हावा (लु) का कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि बर्दिबास नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार निरन्तर बढ्दो तापक्रम र लुले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि नगर कार्यपालिकाको निर्णयअनुसार बिहीबारदेखि तीन दिनसम्म सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिइएको हो।

स्थानीय शिक्षकहरूका अनुसार पछिल्ला दिनमा बर्दिबास क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। अधिकांश विद्यालय भवन जस्तापाताको छानाले बनेका कारण कक्षाकोठाभित्र अत्यधिक गर्मी हुने गरेको छ। चर्को घाम र तातो हावाका कारण विद्यार्थीहरूलाई उकुसमुकुस हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने तथा बेहोस हुने समस्या बढ्दै गएको बताइएको छ।

मंगलबार बर्दिबास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, पशुपतिनगरमा २० जना विद्यार्थी पालैपालो बेहोस भएपछि विद्यालयमा त्रास फैलिएको थियो। विद्यालयका शिक्षक रामजीवन महतोका अनुसार बुधबार पनि पाँच जना विद्यार्थी कक्षामै बेहोस भएपछि सबै विद्यार्थीलाई बाहिर निकालेर पिपलको रुखमुनि आराम गराइएको थियो।

“जस्तापाताको छानो भएको कक्षाकोठा घाम लागेपछि अत्यधिक तात्ने भएकाले विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ,” महतोले बताउनुभयो। कयसअघि मावि कान्तिबजारमा पनि १० जना छात्रा कक्षाकोठामै बेहोस भएका थिए।

नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख रेवती पराजुलीका अनुसार बर्दिबास नगरपालिकाका १४ वटै वडामा ५० सामुदायिक, २९ संस्थागत र तीन धार्मिक गरी ८२ विद्यालय सञ्चालनमा छन्, जहाँ २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्