रोल्पामा बोलेरो दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु



रोल्पा,जेठ २१ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित व्याङखोलामा सहिद मार्गमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार बिहीबार बिहान दुर्घटनाको सूचना प्राप्त भएपछि ट्राफिकसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा अर्को टोली पनि परिचालन गरिएको छ।

प्रहरीका अनुसार अस्थायी नम्बर प्लेट एमएच१४टीसीजे ४७१ भएको सिङ्गल क्याब बोलेरो पिकअप सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेको अवस्थामा फेला परेको हो। गाडीमा जस्तापाता, सिमेन्ट र प्लास्टिकका पाइपलगायत निर्माण सामग्री लोड गरिएको थियो।

दुर्घटनामा चालक दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्दै आएका अन्दाजी ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्