एआईको युगमा पनि साहित्य अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौं, २० जेठ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता र जीवन-जगतलाई बुझ्ने सबैभन्दा सशक्त माध्यम बनेको बताउनुभएको छ।

आज आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा बोल्दै मन्त्री तिमिल्सिनाले साहित्यले मानिसलाई आत्मचिन्तन, संवेदना र मानवीय मूल्यसँग जोड्ने कार्य गरिरहेको उल्लेख गर्नुभयो।उहाँले सूचना प्रविधिको युगमा मानिसहरू पहिलेभन्दा धेरै जोडिए पनि एकअर्कालाई बुझ्ने क्षमता अपेक्षाकृत कमजोर बन्दै गएको भन्दै साहित्यको आवश्यकता झन् बढेको बताउनुभयो।

“एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा पनि मानिसहरू कविता लेखिरहेका छन्, कथा सुनाइरहेका छन्, किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो,” उहाँले भन्नुभयो।

विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा तीव्र परिवर्तन भइरहेका बेला मानिसहरू अझै पनि अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको उल्लेख गर्दै उहाँले साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोकेर सोच्न बाध्य बनाउने धारणा राख्नुभयो।

मन्त्री तिमिल्सिनाले कविता, उपन्यास र अनुवादका माध्यमबाट लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई जोगाइरहेको बताउनुभयो। नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको आफ्नो अनुभव सुनाउँदै उहाँले साहित्य र सङ्गीतले राजनीति, भूगोल तथा सामाजिक विभाजनभन्दा पर पुगेर सम्बन्ध विस्तार गर्न सक्ने उल्लेख गर्नुभयो।

नेपालको भाषिक तथा सांस्कृतिक विविधताको चर्चा गर्दै उहाँले देशमा १२० भन्दा बढी भाषा बोलिने र प्रत्येक भाषाले आफ्नै विश्वदृष्टि बोकेको बताउनुभयो। हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले नेपालको साझा पहिचानलाई समृद्ध बनाएको उहाँको भनाइ थियो।

आधुनिक सञ्चार माध्यम र सामाजिक सञ्जालको विकासअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेको स्मरण गर्दै उहाँले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिस्कृत हुँदै आएको बताउनुभयो।

साहित्यिक यात्राबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले सन् २००६ मा गजलसङ्ग्रह प्रकाशन गरेको जानकारी दिनुभयो। साथै, कविता र साहित्यले तथ्याङ्क, नीति तथा औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई उजागर गर्न सक्ने उहाँको भनाइ थियो।

नेपाली साहित्यिक परम्पराको चर्चा गर्दै उहाँले भानुभक्त आचार्य देखि लक्ष्मीप्रसाद देवकोटा सम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेको उल्लेख गर्नुभयो। वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अगाडि बढाइरहेको उहाँले बताउनुभयो।

उहाँले विभिन्न साहित्यिक मेला तथा जमघटले विचार र सिर्जनालाई सीमापार पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौं भेलाले नेपालको हिमाल, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त

प्रतिक्रिया दिनुहोस्