नुवाकोट पञ्चकन्यामा बाल सञ्जालको पुनर्गठन : बाल सहभागिता र नेतृत्व विकासमा नयाँ ऊर्जा



नुवाकोट,जेठ २१ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बालबालिकाको नेतृत्व विकास, सहभागिता अभिवृद्धि र अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित वडा स्तरीय बाल भेला, योजना तर्जुमा तथा बाल सञ्जाल पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न कार्यक्रमले बालबालिकालाई स्थानीय तहको योजना निर्माण प्रक्रियासँग जोड्नुका साथै उनीहरूको आवाजलाई संस्थागत गर्ने प्रयास गरेको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत पाँचवटै वडामा बाल सञ्जालको पुनर्गठन गर्दै नयाँ नेतृत्व चयन गरिएको छ। वडा नम्बर १ मा सुमन सुनार, वडा नम्बर २ मा विद्या भण्डारी, वडा नम्बर ३ मा देविका खड्का, वडा नम्बर ४ मा विवियन खड्का तथा वडा नम्बर ५ मा सञ्जिव तामाङको अध्यक्षतामा नयाँ वडा स्तरीय बाल सञ्जाल गठन गरिएको हो।

बाल भेलामा सहभागी बालबालिकाले आफ्ना आवश्यकता, समस्या र अपेक्षाबारे छलफल गर्नुका साथै आगामी योजनाका प्राथमिकतासमेत तय गरेका थिए। कार्यक्रमले बालमैत्री स्थानीय शासनको अवधारणालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

गाउँपालिकाले नवगठित सबै बाल सञ्जाल तथा नेतृत्व टोलीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै बालबालिकाको क्षमता विकास, नेतृत्व अभिवृद्धि र समुदायमा सकारात्मक परिवर्तनका लागि बाल सञ्जालले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमै बाल अधिकार, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामाजिक सचेतनाका विषयमा बालबालिकाको सहभागिता बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने सरोकारवालाहरूको भनाइ छ।पञ्चकन्या गाउँपालिकाले आगामी दिनमा पनि बालमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्