नुवाकोट लिखुका विपन्न र अनाथ बालबालिकालाई शिक्षामा टेवा, १०० विद्यार्थीलाई सम्भव नेपालको सहयोग
नुवाकोट, जेठ २१ – आर्थिक अभावका कारण शिक्षामा निरन्तरता दिन कठिनाइ भोगिरहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सम्भव नेपाल नामक गैरसरकारी संस्थाले जिल्लाको लिखु गाउँपालिकाका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बिहीबार लिखु गाउँपालिका -४ स्थित क्षेत्रपाल माद्यामिक विद्यालयमा आयोजित एक कार्यक्रम बीच गाउँपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालयबाट छनोट गरिएका बालबालिकालाई विद्यालय तथा उच्च शिक्षामा सहयोग पुग्ने उदेश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा छनोटमा परेका विद्यार्थीहरूलाई विद्यालय झोला, कापी र सिसाकलम तथा अन्य शैक्षिक सहायता सामग्री वितरण गरिएको सो संस्थाले जनाइएको छ।
संस्थाले सहयोग वितरणअघि निष्पक्ष, पारदर्शी र न्यायोचित छनोट प्रक्रिया अपनाएको थियो। पैतृक सम्पत्ति नभएका अनाथ बालबालिका, आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थी, दलित, आदिवासी जनजाति, पिछडिएका तथा सामाजिक रूपमा विभेदमा परेका समुदायका बालबालिकालाई प्राथमिकतामा राखिएको थियो। साथै बालक र बालिकालाई समान अवसर प्रदान गर्दै प्रत्येक कक्षाबाट विद्यार्थी छनोट गरिएको थियो।
बालबालिका छनोटका क्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय सरकार, महिला समूह तथा सामाजिक संघसंस्थासँग समन्वय गरिएको थियो। छनोट गरिएका विद्यार्थीहरूको विवरण स्थानीय तहको शिक्षा शाखाबाट प्रमाणीकरण गरिएपछि सहयोग वितरण गरिएको लिखु गाउँपालिका शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जनाएका छन् ।
कार्यक्रमले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनसक्ने जोखिममा रहेका बालबालिकालाई राहत पुग्नुका साथै उनीहरूको शैक्षिक यात्रामा थप उत्साह र आत्मविश्वास प्रदान गर्ने लिखु- ३ स्थित निरन्जना आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम थपलियाले बताउनुभयो । उहाँले स्थानीय समुदायले यस्ता सहयोगमूलक कार्यक्रमले शिक्षामा पहुँच विस्तार र समावेशी विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

