भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल



काठमाडौं, जेठ २१ — परराष्ट्रमन्त्री शिशिर खनाल यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने हुनुभएको छ। भारतका विदेशमन्त्री एस जयशङ्कर को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल हुने जनाइएको छ।

मन्त्रालयका अनुसार दुवै नेताबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा सहयोग तथा जनस्तरका सम्बन्धलगायत विषयमा विचारविमर्श हुनेछ। साथै, आपसी हित र साझा चासोका विषयलाई थप प्रभावकारी बनाउने उपायबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयले उच्चस्तरीय भ्रमणहरूको नियमित आदानप्रदानको निरन्तरताका रूपमा यस भ्रमणलाई महत्वपूर्ण मानेको छ। मन्त्रालयका अनुसार भ्रमणले नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन तथा आपसी सहकार्यलाई थप विस्तार गर्न सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा पछिल्ला वर्षहरूमा हुँदै आएका उच्चस्तरीय भेटघाट र संवादलाई यस भ्रमणले थप गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्