भारत भ्रमण नेपालको विकास र समृद्धिमा केन्द्रित : रवि लामिछाने



काठमाडौं ,जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने (Rabi Lamichhane) ले आफ्नो भारत भ्रमण व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर नेपालको विकास र समृद्धिलाई केन्द्रमा राखेर गरिएको बताउनुभएको छ।

नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाललाई आर्थिक तथा विकासको नयाँ चरणतर्फ अघि बढाउने उद्देश्यसहित विभिन्न तहमा संवाद र सहकार्यको वातावरण निर्माण गर्न आफू भारत आएको बताउनुभयो।

उहाँले नेपालले लामो समयदेखि समृद्धिको लक्ष्य बोके पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै अब क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र साझेदारीमार्फत विकासको गतिलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। पछिल्ला वर्षहरूमा भारतले हासिल गरेको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने उहाँको भनाइ थियो।

सभापति लामिछानेले आफ्नो भ्रमणको मुख्य उद्देश्य विभिन्न कूटनीतिक तथा संस्थागत संयन्त्रसँग संवाद विस्तार गर्दै आर्थिक विकास र समृद्धिको साझा आधार तयार गर्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले भ्रमण कुनै व्यक्तिगत माग वा पार्टीगत स्वार्थका लागि नभई नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर गरिएको जिकिर गर्नुभयो।

रास्वपा नेतृत्वको सरकार प्रारम्भिक चरणमै रहेकाले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले राजनीतिक भागबन्डाको पुरानो अभ्यास अन्त्य गरी परिणाममुखी, उत्तरदायी र प्रभावकारी शासन व्यवस्थातर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्