ट्याङ्करभित्र लुकेका ३० आप्रवासी टर्कीएमा पक्राउ



काठमाडौं,जेठ २२ । दक्षिणपूर्वी टर्कीएमा प्रहरीले इरानको सीमा नजिकै एक ट्याङ्करभित्र लुकेर यात्रा गरिरहेका ३० जना आप्रवासीलाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखनसँग सम्बन्धित आशङ्कामा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधबार सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको भिडियोमा पूर्वी बिटलिस प्रान्तको सडकमा रोकिएको ट्याङ्करको माथिल्लो भागबाट सुरक्षाकर्मीहरूले आप्रवासीहरूलाई बाहिर निकालिरहेको देखिन्छ। पक्राउ परेका व्यक्तिहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाइने तयारी गरिएको बताइएको छ।

घटनाबारे थप विवरण सार्वजनिक नगरिएको भए पनि प्रहरीले एएफपीसँगको सम्पर्कमा थप टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ। इरानी सीमाबाट करिब ३०० किलोमिटर टाढा रहेको बिटलिस प्रान्त अवैध आप्रवासीहरूको आवतजावत हुने प्रमुख मार्गका रूपमा चिनिन्छ। यहाँ आप्रवासीहरू ट्रक तथा अन्य सवारीसाधनभित्र लुकेर यात्रा गर्ने घटनाहरू बेलाबेलामा सार्वजनिक हुँदै आएका छन्।

टर्कीएले विशेषगरी अफगानिस्तानबाट आउने अवैध आप्रवासीहरूको प्रवेश रोक्न सन् २०२१ देखि इरानी सीमामा पर्खाल निर्माण अभियान सञ्चालन गर्दै आएको छ। हालसम्म उक्त क्षेत्रमा करिब ३८० किलोमिटर लामो कङ्क्रिट ब्यारियर, ५५३ किलोमिटर ट्रेन्च तथा २५० वटा निगरानी टावर निर्माण भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्