घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु
ताप्लेजुङ, असार २२ — ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ५१ वर्षीय ज्ञानबहादुर लिम्बू रहेका छन्।
ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार डाले घाँस झार्ने क्रममा लिम्बू रुखबाट खसेका थिए। घटनापछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृतक लिम्बूको शव जिल्ला अस्पताल ताप्लेजुङमा पोस्टमार्टम (शव परीक्षण) गरी आवश्यक प्रक्रिया पूरा भएपछि आफन्तलाई बुझाइएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

