दश संकल्पसहित नयाँ पुस्तासँग अन्तरसंवाद गर्ने एमालेको निर्णय
काठमाडौं, जेठ २२ । नेकपा (एमाले) ले दश संकल्प प्रस्ताव जारी गर्दै नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार र बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशालाबाट पार्टीले संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा डिजिटल रूपान्तरणलाई केन्द्रमा राख्दै विभिन्न संकल्पहरू सार्वजनिक गरेको हो।
एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार कार्यशालाले पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरण कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अगाडि बढाउने निर्णय गरेको छ। साथै, प्रत्येक सङ्गठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य तयार गर्ने र निष्क्रिय मतदातालाई पुनः पार्टी गतिविधिमा सक्रिय हुन आह्वान गर्ने संकल्प गरिएको छ।
कार्यशालाले ‘ठिक समय एमाले समय’ भन्ने नारालाई व्यवहारमा उतार्ने, विज्ञान तथा प्रविधि र सामाजिक सञ्जालको प्रभावकारी उपयोगमार्फत पार्टीलाई डिजिटल क्रान्तितर्फ उन्मुख गराउने तथा सदस्यता नवीकरण अभियानलाई सम्पन्न गर्ने लक्ष्य तय गरेको छ।त्यसैगरी, समुदायका मुद्दालाई केन्द्रमा राखेर नेतृत्व विकास गर्ने, केन्द्रदेखि आधार तहसम्म पार्टी संरचनाको पुनर्गठनका लागि आवश्यक समन्वय गर्ने तथा नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। पार्टी आबद्ध परिवारका छोराछोरीलाई लक्षित गरी सबै कमिटीले यस्ता कार्यक्रम आयोजना गर्ने जनाइएको छ।
एमालेले केन्द्रीय सम्पर्क समन्वय समिति तथा मातहतका संरचनालाई थप सक्रिय बनाउँदै भूगोल र उपत्यकामा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने रणनीति पनि अघि सारेको छ। साथै, अनलाइन र सामाजिक सञ्जालका माध्यमबाट प्रवासमा रहेका नेपाली युवासँग निरन्तर सम्पर्क राख्ने, उनीहरूको अनुभव र विज्ञताको उपयोग गर्ने तथा स्थानीय कमिटीमार्फत प्रवासी युवाको सञ्जाल निर्माण गर्ने संकल्पसमेत कार्यशालाले गरेको ढकालले जानकारी दिनुभयो।

