घोडाको जटिल शल्यक्रिया सफल
काठमाडौँ, जेठ २२ — मुस्ताङको स्याङ गाउँमा आठ वर्षीय भाले घोडाको आँखामाथि पलाएको ठूलो ट्युमर सफलतापूर्वक शल्यक्रिया गरी निकालिएको छ। करिब डेढ घण्टा चलेको उक्त शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्युमर शल्यक्रियाका रूपमा हेरिएको छ।
एनिमल नेपालका डा. अतिषकुमार यादवको नेतृत्वमा सम्पन्न शल्यक्रियामा कृषि तथा पशु सेवा कार्यालयका प्रमुख डा. लालमणि अर्याल र डा. आशिष सापकोटाको टोली सहभागी थियो। उपचारका क्रममा आधुनिक एनेस्थेसिया प्रविधि प्रयोग गरिएको थियो।
घोडा स्थानीय किसान सुकबहादुर थकालीको आयआर्जनको प्रमुख आधार भएकाले सफल शल्यक्रियाले उनको जीविकोपार्जन सुरक्षित भएको छ। मुस्ताङमा हाल ९२५ वटा अश्व प्रजातिका पशु रहेको कृषि तथा पशु सेवा कार्यालयले जनाएको छ। विशेषज्ञहरूले यस उपलब्धिलाई दुर्गम हिमाली क्षेत्रमा आधुनिक पशु स्वास्थ्य सेवाको विस्तारको महत्वपूर्ण उदाहरणका रूपमा लिएका छन्।

