बागमती किनारमा पार्क र हरियाली निर्माणको तयारी
काठमाडौं, जेठ २२ — सरकारले बागमती नदी तथा उपत्यकाका खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको सौन्दर्यीकरण र दीर्घकालीन व्यवस्थापनको योजना अघि बढाएको छ। बागमती सभ्यता एकीकृत विकास समितिले बागमती किनारमा वृक्षरोपण, हरियाली प्रवर्द्धन तथा छ वटा व्यवस्थित पार्क निर्माणका लागि अध्ययन सुरु गरेको जनाएको छ।
समितिका अनुसार बल्खु, कुलेश्वर, वंशीघाट, गैरीगाउँ, सिनामंगल र शान्तिनगर क्षेत्रमा पार्क निर्माण गर्ने तयारी भइरहेको छ। साथै नदीको बहाव क्षेत्र खुला राख्ने, पानी प्रशोधन गर्ने तथा बाढी–डुबानको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
सरकारले बागमती र अन्य खोला किनारका जोखिमपूर्ण तथा अतिक्रमित बस्ती हटाएर एक हजारभन्दा बढी नागरिकलाई सात वटा होल्डिङ सेन्टरमा व्यवस्थापन गरेको छ। सम्बन्धित निकायले खाली गरिएका क्षेत्रको संरक्षण तथा उपयोगका लागि विस्तृत कार्ययोजना तयार पारिरहेको जनाएको छ।

