पर्यावरणमैत्री विकासमा जोड
काठमाडौँ, जेठ २२ । विश्व वातावरण दिवस २०८३ को अवसरमा “समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास” नारासहित जलवायु परिवर्तनमैत्री विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार जलवायु परिवर्तनका कारण वर्षा र मौसमको प्रवृत्तिमा तीव्र परिवर्तन आएकाले पूर्वाधार निर्माण गर्दा वातावरणीय जोखिमलाई ध्यान दिन आवश्यक छ।
मेलम्ची बाढी, हाइड्रोपावर तथा बिपी राजमार्गमा देखिएका क्षतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै विभागले जलवायुमैत्री योजना र निर्माण अभ्यास अपनाउनुपर्ने जनाएको छ। साथै, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लाई औपचारिक प्रक्रिया मात्र नभई दिगो र सुरक्षित विकासको आधारका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
विभागले आगामी दिनमा इआइए प्रतिवेदनको कडाइका साथ कार्यान्वयन गराउने तथा प्रतिवेदन नक्कल गर्ने र औपचारिकतामा सीमित राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने जनाएको छ।

