परराष्ट्रमन्त्री खनाल आजदेखि भारत भ्रमणमा



काठमाडौँ, जेठ २२ — परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि तीनदिने औपचारिक भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्कर को मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच औपचारिक भेटवार्ता हुनेछ। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।

उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनुहुनेछ।

यसैबीच, परराष्ट्रमन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ। नागरिकका बढ्दो अपेक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँले सरकारले परम्परागत कार्यशैलीभन्दा बाहिर निस्केर परिणाममुखी र दिगो विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्यलाई सुदृढ बनाउने नीति अवलम्बन गरिएको बताउनुभयो। साथै, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको हित र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

स्थानीय सरकार सुदृढ भए मात्र विकास र सामाजिक क्षेत्रका कार्यक्रम प्रभावकारी बन्ने बताउँदै उहाँले दिगो शान्ति, विकास र समृद्धिका लक्ष्य हासिल गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्