समृद्धिको ढोका खोल्न भारत आएको हुँ : रवि लामिछाने
काठमाडौँ, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्नो भारत भ्रमण राजनीतिक उद्देश्यभन्दा बढी नेपालको आर्थिक समृद्धि र विकाससँग जोडिएको बताउनुभएको छ।
नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाललाई आर्थिक रूपमा सबल बनाउने अभियानमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आफू “राजनीतिक ढोका होइन, समृद्धिको ढोका खोल्ने उद्देश्यका साथ भारत आएको” बताउनुभयो।
लामिछानेले नेपाललाई सम्मानित राष्ट्र मात्र नभई समृद्ध राष्ट्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विकासका लागि साझा सहकार्य र सकारात्मक वातावरण निर्माण आवश्यक रहेको धारणा राख्नुभयो।भारतसँग आफ्नो कुनै व्यक्तिगत वा दलगत स्वार्थ नरहेको स्पष्ट पार्दै उहाँले नेपाल र नेपालीको हित नै आफ्नो प्रमुख एजेन्डा भएको बताउनुभयो।
उहाँले भारतले पछिल्लो दशकमा विकास र पूर्वाधार निर्माणमा हासिल गरेको उपलब्धिबाट नेपालले पनि सिक्नुपर्ने उल्लेख गर्दै कूटनीतिक तथा आर्थिक सहकार्यमार्फत नेपाललाई विकासको नयाँ चरणमा पुर्याउन प्रयासरत रहेको बताउनुभयो।
प्रवासी नेपालीका समस्या र अपेक्षाबारे आफू जानकार रहेको बताउँदै उहाँले स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, विदेशमा रहेका नेपालीलाई आफ्नो सीप, अनुभव र पुँजी स्वदेशको विकासमा लगानी गर्न आग्रह गर्दै परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गर्नुभयो।
कार्यक्रमका अवसरमा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले प्रवासी नेपालीका समस्या तथा सरोकार समेटिएको ज्ञापनपत्र लामिछानेलाई हस्तान्तरण गरेका थिए।

