सम्पर्कबिहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन



काठमाडौँ, जेठ २२ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कबिहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै अन्यथा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गराउन निर्देशन दिएको हो।

सूचनामा नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण यकिन गर्न भनिएको छ। साथै बिदा अवधि समाप्तिपछि सम्बन्धित कर्मचारी हाजिर भए वा नभएको अवस्थाबारे राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी अभिलेख अद्यावधिक गर्न आग्रह गरिएको छ।

मन्त्रालयले तोकिएको समयभित्र अभिलेख अद्यावधिक नगर्ने तथा सम्पर्कमा नआउने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्