फिफा विश्वकप २०२६ : अहिलेसम्मकै ठूलो पुरस्कार राशि र अर्बौँ डलरको आर्थिक खेल



काठमाडौं,जेठ २२ । फिफा विश्वकप २०२६ सहभागी टोलीको संख्या मात्र नभई पुरस्कार राशि र आर्थिक आम्दानीका हिसाबले पनि अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण बन्ने भएको छ। उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा आयोजना हुने विश्वकपमा यसपटक ४८ टोली सहभागी हुनेछन् भने खेल संख्या ६४ बाट बढेर १०४ पुगेको छ।

फिफाले विश्वकप २०२६ का लागि कुल ७२७ मिलियन अमेरिकी डलर पुरस्कार राशि घोषणा गरेको छ, जुन कतार विश्वकप २०२२ को ४४० मिलियन डलरभन्दा ५० प्रतिशतभन्दा बढी हो। यसमध्ये ६५५ मिलियन डलर प्रत्यक्ष रूपमा सहभागी सदस्य राष्ट्रहरूलाई वितरण गरिनेछ।
प्रतियोगिताको विजेता टोलीले इतिहासकै सर्वाधिक ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ। उपविजेताले ३३ मिलियन, तेस्रो हुने टोलीले २९ मिलियन र चौथो स्थान हासिल गर्ने टोलीले २७ मिलियन अमेरिकी डलर पाउनेछन्। क्वार्टरफाइनल पुग्ने टोलीलाई १९ मिलियन, अन्तिम १६ मा पुग्ने टोलीलाई १५ मिलियन तथा अन्तिम ३२ मा पुग्ने टोलीलाई ११ मिलियन डलर प्रदान गरिनेछ। समूह चरणमै बाहिरिने टोलीले पनि ९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन्।

यसका अतिरिक्त प्रत्येक सहभागी राष्ट्रलाई तयारी खर्चबापत १.५ मिलियन अमेरिकी डलर उपलब्ध गराइनेछ। यससँगै विश्वकपमा सहभागी हुने प्रत्येक टोलीले कम्तीमा १०.५ मिलियन अमेरिकी डलर सुनिश्चित रूपमा प्राप्त गर्नेछन्।

विश्वकप २०२६ ले फिफाको आम्दानीमा पनि ऐतिहासिक वृद्धि गर्ने अपेक्षा गरिएको छ। एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको अध्ययनअनुसार प्रतियोगिताबाट फिफाले करिब ९ बिलियन अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ। जसमा ३.९ बिलियन डलरभन्दा बढी हिस्सा प्रसारण अधिकारबाट आउने अपेक्षा गरिएको छ। बाँकी आम्दानी विज्ञापन, प्रायोजन, टिकट बिक्री तथा हस्पिटालिटी सेवाबाट प्राप्त हुनेछ।

फिफाको २०२३–२०२६ आर्थिक चक्रमा कुल आम्दानी करिब १३ बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो चक्रको तुलनामा झन्डै दोब्बर हो। विशेषज्ञहरूले विश्वकपको डिजिटल तथा टेलिभिजन पहुँच करिब ६ बिलियन दर्शकसम्म पुग्ने र स्टेडियममा मात्रै ५० लाखभन्दा बढी दर्शक उपस्थित हुने प्रक्षेपण गरेका छन्।
फिफा अध्यक्ष गियन्नी इन्फन्टिनो (Gianni Infantino) ले विश्वकप २०२६ लाई खेलकुदको विस्तारसँगै विश्व फुटबलमा अभूतपूर्व आर्थिक योगदान दिने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्