धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न
काभ्रेपलान्चोक,जेठ २३ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजना विसं २०८१ असोजको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनःनिर्माण सम्पन्न गरिएको छ। बाढीपहिरोले पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्र, भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुर्याएको थियो।
धुलिखेल नगरपालिकाका कार्यबाहक प्रमुख निराजन जङ्गमका अनुसार आयोजनाको पुनःनिर्माण धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा सम्पन्न भएको हो। बाढीका कारण खारखोलामा रहेको १५० मिटर मुख्य पाइपलाइन बगाउँदा धुलिखेलमा तीन महिनासम्म खानेपानी सेवा अवरुद्ध भएको थियो।
उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुका अनुसार तीन करोड ५१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न गरिएको हो। गत वर्ष जेठ २० गतेदेखि सुरु भएको पुनःनिर्माणका लागि जर्मन सरकारबाट सम्झौताअनुसार एक करोड ४५ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो।
जर्मन सरकारले सन् १९९२ मा पनि उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो। बाढीपहिरोबाट क्षति पुगेपछि नगरपालिकाले जर्मन दूतावाससँग सहयोगको अनुरोध गरेको थियो। प्राप्त सहयोग रकमबाट आयोजनाको इन्टेक, पाइपलाइन तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिएको जनाइएको छ।
बाढीका कारण आयोजना क्षतिग्रस्त हुँदा नगरका वडा नम्बर ३, ४, ५, ६ र ८ का तीन हजार ६०० परिवार खानेपानी सेवाबाट वञ्चित भएका थिए। तत्कालीन अवस्थामा करिब २० लाख रुपैयाँ खर्च गरेर अस्थायी व्यवस्थामार्फत खानेपानी आपूर्ति गरिएको थियो।

