नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन
नेपालगन्ज,जेठ २३ । नेपालगन्जमा आजदेखि ‘रुपान्तरणका लागि प्रविधि’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइले सम्मेलन आयोजना गरेको हो।
इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसी ले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयमा केन्द्रित नौवटा सत्र सञ्चालन गरिनेछ।
विश्वविद्यालयका उपकुलपति विनोदप्रसाद ढकाल ले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताका अनुसन्धान प्रस्तुति, प्रविधि र लुम्बिनी प्रदेशको विकासबीचको सम्बन्धबारे प्यानल छलफल तथा विभिन्न क्षेत्रका विज्ञको सहभागिता रहने जानकारी दिनुभयो।
नेपालगन्जलाई प्रविधि केन्द्रका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी ले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो।
सम्मेलनका संयोजक चतुर्भुज भट्ट का अनुसार कार्यक्रममा वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहनेछ ।

